झापा गोल्डकप: थ्री स्टारलार्इ हराउँदै झापा ११ फाइनल प्रवेश

भारती राई/बिर्तामोड, २५ फाल्गुन । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ विजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैंयाको पुरस्कार सुरक्षित गरेको छ ।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा रमपम झापा ११ ले ४−३ गोल अन्तरले विजयी भएको हो । झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देबेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए । त्यस्तै, थ्री स्टारका लागि रजिन धिमाले, विजय धिमाल र निराजन खड्काले गोल गरेका थिए भने सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।

खेलको ११ औं मिनेटमा थ्री स्टारका अजय मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो । ३० औं मिनेटमा झापाका विशाल राइको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए । ६० औं मिनेटमा विशाल राइको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ६५ औं मिनेटमा थ्री स्टारका दिपक राइको प्रहार झापाका गोर रक्षक किशोर गिरीले रोकेका थिए ।

६७ औं मिनेटमा गोलकिपर बीट भइसकेपछि थ्री स्टारका बुद्ध चेम्जोङले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाईनबाट बचाएका थिए । ७५ औं मिनेटमा डि एरिया नजिकै पाएको पाएको फ्रि किकलाई थ्री स्टारका सुनिल बलले प्रहार गरेका थिए । सो प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच झापाका डिफेन्डर देबेन्द्र तामाङ घोषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो । शनिबारको अन्तिम सेमीफाइनल खेल मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।

खेलपछि भएको पोष्टम्याच कन्फ्रेन्समा बोल्दै बिजेता टीमका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले गरेको मेहेनतको फल पाएको बताए । उनले नेपालकै नम्बर १ टिमसँग खेलेर जित्नु सामान्य कुरा नभएको बताउँदै उनले दर्शकको समर्थन जितका लागि सहयोगी भएको टिप्पणी गरे । झापाले ११ ले थालेको अनुबन्धनका कारण पनि उत्साहित भएर खेलाडीले प्रदर्शन गरेको उनले बताए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले झापा बलियो टिम भएकाले पराजय ब्यहोरेको बताए । नियमित खेल खेलेकाले पनि तयारी गर्न नपाएका कारण आफ्नो क्लबले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको उनको तर्क थियो । खेल उत्कृष्ट भएको भएपनि समय अपुग भएकाले खेलाडी दबाबमा परेको उनले बताए ।