ट्रम्पले स्वीकारे किमको प्रस्ताव, दुर्इ नेताबीच मेमा वार्ता हुने

काठमाण्डौ, २५ फाल्गुन । दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा जारी तनावबारेका वार्तामा महत्वपूर्ण प्रगति हासिल भएको घोषणा गरेको छ ।

हालै दक्षिण कोरियाली बरिष्ठअधिकारीहरूले किमलार्इ भेटी उनको सन्देश अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकहाँ पुर्याएपछि उत्तर कोरियाली नेता किमले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारेकोले दुई देशबीच संवादकाे ढाेका खुलेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार जङ यी योङले राष्ट्रपति ट्रम्पलाई किम जोङ-उन परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध रहेको बताएपछि जवाफमा राष्ट्रपति ट्रम्पले मे महिनामा किम जोङ उनसँग भेटेर स्थायी परमाणु निसस्त्रीकरण हासिल गर्ने बताएका हुन् । उत्तर र दक्षिण कोरियाबीच हिउँदे ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो ।

हालै विकसित नयाँ घटनाक्रमले शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच संवाद हुने संभावना देखिएको छ ।