अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण काठमाडौंमा सुरु

काठमाण्डौ, २४ फाल्गुन । मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण काठमाडौंमा सुरु भएको छ ।

सन् २०१० देखि सुरु भएको महोत्सवको यो संस्करण महिलामाथि समर्पित रहेको आयोजकले जनाएको छ । ‘महिला सशक्तीकरण’ को नाराका साथ सुरु महोत्सवमा ३० देशका ७१ फिल्म प्रदर्शन हुने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

२६ गतेसम्म भृकुटीमण्डपको पर्यटन बोर्डको हलमा चल्ने महोत्सवमा नेपाली फिल्मकर्मीले निर्माण गरेका २० फिल्म प्रदर्शन हुनेछन् । महोत्सवमा प्रत्येक दिन चलचित्र प्रर्दशनपछि चलचित्रका विभिन्न विषयमा अन्तर्क्रिया गरिने छ ।

महोत्सवको दोस्रो दिन ‘नेपाली सिनेमामा महिलाको प्रस्तुति’ शीर्षकमा अन्तक्रियाको आयोजना गरिने छ । महोत्सवको तेस्रो दिन ‘मानव अधिकारका अबका एजेन्डाहरू’ शीर्षकमा अन्तर्क्रिया आयोजना हुनेछ । महोत्सवकै समयमा महिला सशक्तिकरणलाई प्रतिबिम्बित गरिएका ३० भन्दा बढी चित्रकलाको प्रदर्शनी गरिएको छ ।