नेपालद्वारा स्कटल्यान्डसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत

काठमाण्डौ, २४ फाल्गुन । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’को खेलमा नेपालले स्कटल्यान्डसामु १ सय ५० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४७.४ ओभरमा १ सय ४९ रनमा समेटिएको थियो ।

खेलमा नेपालका लागि कप्तान पारस खड्काले सबैभन्दा बढी ६३ रनमा जोड्न सफल भए । २६ ओभरमा अर्धशतक पूरा गरेका उनले ७५ बलमा ९ चौका प्रहार गरे । खराब सुरुवात गरेको नेपालको इनिङलाई गति दिएका पारस सातौं विकेटको रुपमा आउट भएपछि नेपाल धरापमा परेको हो ।

खेलमा पारसले ‘लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गर्दै ‘लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी भएका छन् । त्यस्तै, स्कटल्यान्ड विरुद्ध बसन्त रेग्मीले नेपालका लागि नटआउट २४ रन जोडे । उनले ५१ बलमा १ चौका प्रहार गरे । पाँच ओभरभित्र सुरुवाती ४ विकेट गुमाएपछि नेपाल सुरुवातमै दबाबमा परेको थियो। ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए।

बलिङतर्फ स्कटल्यान्डका स्टुवार्ड विटिङ्घमले ३ विकेट लिए भने साफयान शरिफले २ विकेट हात पारेका छन्। विटिङ्घमले नेपालका सुरुवाती ३ विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । स्कटल्यान्ड भने तेस्रो खेल खेलिरहेको छ ।