रमपम झापा ११ सेमिफाइनलमा प्रवेश

भारती राई/झापा, २३ फाल्गुन । पाहुना टोली सिक्किम युनाइटेडलाई स्तब्ध बनाउँदै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २−१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनलमा थ्री स्टारसँगको भेटलाई पक्का गरेको हो ।

खेलको १७ औं मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गरेपछि सिक्किमले अग्रता लिएको थियो । झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङले प्रहार गरेका थिए । उक्त प्रहारलाई हेडमार्फत लेप्चाले पोष्टको जाली चुमाएका थिए ।

सिक्किमको त्यो अग्रता धेरै समय टिक्न सकेन । सिक्किमले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै झापाका स्ट्राइकर खमिर गिल्सन कन्दङवाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डि एरियाभित्र पाएको बललाई कन्दङवार्ले साइक्लिङ’ किकमार्फत आकर्षक गोल गरेका थिए । १−१ को बराबरी रहेको झापाले अर्काे गोल उपहारमार्फत पाएको थियो । खेलको ४२ औं मिनेटमा विश्वास श्रेष्ठको क्रस पासमा डि एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच हुँदै ’अन गोल’ भएपछि झापाको अग्रता दोब्बर भएको थियो ।

त्यस्तै सिक्किम युनाइटेडको तर्फबाट खेलको ३१ औं मिनेटमा दावा शेर्पाको पासमा मायल डोक्पा लेप्चाको प्रहार पोष्ट नजिकैबाट बाहिरिंदा खेलमा अग्रता लिने अवसर गुमाएको थियो । त्यस्तै खेलको ७१ औं मिनेटमा पाल्साङ लामाको प्रहार झापाका गोल किपर किशोर गिरीले बचाएका थिए । खेल अवधिभर झापाका एक र सिक्किमका ३ खेलाडीलाई रेफ्री नविन्द्र महर्जनले पहेलो कार्डको दर्शन गराएका थिए ।

खेलको म्यान अफ द म्याच विजेता टिम झापा ११ का विश्वास श्रेष्ठ घोषित भए । उनले ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको २५ हजार रुपैंया पाए । बिहिबारको खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५२ हजार, उपविजेताले ६ लाख र ट्रफी पाउने आयोजकले जनाएको छ ।