उच्च आर्थिक वृद्धिदरको लक्ष्यका कारण बजारमा तरलताको अभाव: गर्भनर

काठमाण्डौ, २३ फाल्गुन । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको बताएका छन् ।

चालु आर्थिक वर्षको २०७४-७५ को बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै डा. नेपालले सो कुरा बताएका हुन् । उनले उच्च आर्थिक वृद्धिदरको लक्ष्यका कारण बजारमा तरलताको अभाव देखिएको बताए ।

नेपाल राष्ट्र बैंकमा रहेको २८५ अर्ब रुपैयाँ बजारमा गएपछि लगानी योग्य पुँजीको समस्या समाधान हुने उनले बताए । गर्भनरले हाल वित्त प्रणालीमा सीआरआर बाहेक १९ अर्ब रुपैयाँ तरलता रहेको जानकारी दिए ।

एक सय ५१ अर्ब बैदेशिक लगानी स्वीकृतिको चरणमा रहेको जानकारी दिँदै उनले ठूलो मात्रामा वैदेशिक लगानी आउँदै रहेकाले पुँजीगत खर्चपनि बढेपछि लगानीयोग्य पुँजीको समाधान हुने बताए ।