Breaking News

खर्च गर्न नसकिने भन्दै सरकारले चालु बजेट घटायो

काठमाण्डौ, २३ फाल्गुन । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर संशोधन गरेको छ ।

अर्थमन्त्रालयले बुधवार मध्यावधि समीक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतमा रहने जनाएको हो । मध्यावधि समीक्षा कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको थियो ।

समीक्षामा मूल्यवृद्धि भने साढे तीन प्रतिशतमा रहने अनुमान गरिएको छ । मन्त्री खतिवडाले चालु आवमा ८४ दशमलव ६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताए । चालु आर्थिक वर्षका लागि सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । सरकारले खर्च गर्न नसक्ने भएपछि चालु आवको बजेटको आकार घटाएको छ । अब बजेट १० खर्ब ९९ अर्ब भएको छ ।

चालु आवमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको हो । सरकारले विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था रहिरहँदा बजेटभन्दा बाहिरका कार्यक्रमका लागि तीन खर्ब बढि रुपैयाँको माग आएको मन्त्री खतिवडाले बताए । खतिवडाले भन्सारमा मूल्यांकन कम गर्ने र छापा मार्ने प्रवृति अन्त्य हुनुपर्ने पनि बताए ।

एलसी र सन्दर्भ मूल्यमार्फत भन्सार मूल्यांकन भएमा राजस्व प्रशासन सुधार हुने उनको भनाइ छ । त्यस्तै मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत रूपमा अगाडि बढाउने उनले जानकारी दिए । हाल सरकारले स्वास्थ्य बिमा, वृद्ध भत्ता, पेन्सन, ७५ वर्ष माथिकालाई निःशुल्क औषधी लगायतका विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

खतिवडाले श्वेतपत्रमार्फत अर्थतन्त्रको भविष्यको बाटो सार्वजनिक गर्ने बताए । चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षालगत्तै श्वेतपत्र तयारीमा लाग्न अर्थमन्त्री खतिवडाले निर्देशन दिइसकेका छन् ।

shares