अवैध लागूऔषध भित्र्याउने १ भारतीयसहित ३ जना पक्राउ

काठमाण्डौ, २३ फाल्गुन । प्रहरीले राजधानीमा अवैध लागूऔषध भित्र्याउने एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अवैध लागूऔषध भित्र्याउने एक भारतीय र २ नेपाली नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट तलाखु गाविस वडानम्बर १ का सुनिल घिमिरे, बारा गढीमाई नगरपालिका १० का विगु रायभर र भारत दरभंगाका महोम्मद रीयाजुदिन रहेका छन् ।

उनीहरूले लागु औषध सवारीसाधनमा प्रयोग गरिने ‘ग्रिज’को बट्टामा ल्याएका थिए । उनीहरूले ग्रिजको बाल्टिनभरि लागुऔषध राखेर माथिबाट लेप लगाएका थिए । प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नम्बर २० र २१ बाट ५४ सय ९ थान लागुऔषधको एम्पुलसहित पक्राउ गरेको थियो, जसको बजार मूल्य २३ लाख हुने काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ परेका विगु रायभर यसअघि वीरगञ्जमा ज्यान मार्ने उद्योगमा परेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानबाट भारतबाट वीरगञ्ज, विराटनगरलगायत नाका हुँदै लागुऔषध काठमाडौं भित्रिने देखाएको छ । त्यसपछि काठमाडौंबाट विभिन्न ठाउँमा वितरण हुने प्रहरीको भनाइ छ । समूहमा अन्य २ जना पनि रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।