सर्वोत्कृष्ट अभिनेत्रीको अोस्कार अवार्ड नै चोरियो

काठमाण्डौ, २२ फाल्गुन । सोमबार सम्पन्न एकेडेमी अवार्डमा सर्वोत्कृष्ट अभिनेत्री घोषित फ्रान्सेस म्याकडोरमान्डको ओस्कार अवार्ड चोरी भएको छ ।

अवार्ड वितरण समारोहपछि अमेरिकाको हलिउडस्थित गभर्नरस् बलबाट सो अवार्ड चोरी भएको प्रहरीले पुष्टि गरेको हो ।

प्रहरीले अवार्ड चोरी गर्ने ४९ वर्षीय टेरी ब्रेन्टलाई लस एन्जलस पक्राउ गरी २० हजार अमेरिकी डलर धरौटी लिएर उनलार्इ रिहा गरेको बताइएको छ । आवश्यक परेको बखत अदालतमा हाजिर हुने शर्तमा उनलाई रिहा गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले सो ओस्कार अवार्ड अभिनेत्री म्याकडोरमान्डलाई बुझाइसकेको छ । लस एन्जलस प्रहरीका अनुसार चोरी गर्ने ब्रेन्ट समारोह सकिएपश्चात् भएको औपचारिक खाना सत्रका लागि अामन्त्रित व्यक्ति थिए । खाना खाने समयमा अवार्ड चोरी गरिएकोे थियो।

तर चोरी हुनुपूर्व नै अवार्डमा म्याकडेरमान्डको नाम भने अंकित गरिसकिएको जनाइएको छ ।