रमपम झापा गोल्डकप: थ्री स्टारद्वारा एपीएफ १−० ले पराजित

झापा, २१ फाल्गुन । काठमाण्डौको थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपीएफसँग तीन दिन अघि चितवनमा भएको गोल्डकपमा ब्यहोरेको हारको बदला लिएको छ ।

बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा एपीएफलाई १−० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले बदला लिएको हो । चितवनमा सम्पन्न विकास रनिङ शिल्डको फाइनल खेलमा एपीएफले थ्री स्टारलाई १−० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।

थ्री स्टारको जितका लागि विदेशी खेलाडी अजय मार्टिन नायक बने । उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । एपीएफका गोलकिपर अमृत कुमार चौधरी लडेको समयमा भलि गर्दै गोललाई पोष्टको जाली चुमाए । सुनील बलको क्रस पासमा मार्टिनले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच थ्री स्टारका अजय मार्टिन घोषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार प्राप्त गरे । मंगलबारको खेल मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब पोखराबीच हुने आयोजक समितिले जनाएको छ । गोल्डकप विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाखसहित ट्रफी पाउनेछ ।