काष्ठमण्डप मन्दिर पुनर्निर्माणका लागि चारपक्षीय सम्झौता

काठमाण्डौ, ३० वैशाख । काठमाण्डौको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न चारपक्षीय सम्झौता भएको छ ।

काष्ठमण्डपको पुनर्निर्माणबारे पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण अभियानबीच समझदारी भएको हो । समझदारी पत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुसाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाण्डौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा हस्ताक्षर गरिसकेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्दराज पोखरेलले सार्वजनिक तथा निजी साझेदारी अवधारणा अन्तर्गत पुनर्निर्माण हुन लागेको जानकारी दिए ।