Breaking News

पाकिस्तानी प्रधानमन्त्री अब्बासी अाइपुगे काठमाण्डौ

काठमाण्डौ, २१ फाल्गुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी दुईदिने औपचारिक नेपाल भ्रमणको क्रममा आज काठमाण्डौ आएका छन् ।

३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपरान्ह काठमाण्डौ आइपुगेका हुन् । आफ्नै विमानबाट आएका प्रधानमन्त्री अब्वासीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे ।

प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन् । अब्बासीको भ्रमणअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरेको थियो ।

प्रधानमन्त्री अब्वासीलाई सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले आजै ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागिता रहनेछ । गार्ड अफ अनर लिइसकेपछि उनी प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो । सोही अनुरुप दुर्इपक्षीय भेटघाटको कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री अब्बासीले भोलि बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि पाकिस्तानी प्रधानमन्त्री मंगलबार स्वदेश फकने कार्यक्रम छ ।

shares