October 24, 2017

भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

भक्तपुर । भोलि वैशाख ३१ गतेका लागि हुन लागेको स्थानीय तहको निर्वाचनको भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

भक्तपुरका चार नगरपालिकाका लागि हुने स्थानीय तहको निर्वाचनका लागि ७८ स्थानमा मतदानस्थल र १ सय ९१ मतदान केन्द्रमा सम्पूर्ण निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका निर्वाचन प्रमुख उमेश राईले बताए ।

त्यस्तै, भक्तपुरको सुरक्षा अवस्था निकै मजबुद पारिएको हुँदा मतदाहरुलाई ढुक्क भएर मतदान गर्न भक्तपुर सुरक्षा समितिका अध्यक्ष एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले आग्रह गरे ।

उनले भक्तपुरमा कुल २ हजार सुरक्षाकर्मी परिचालन गरिएको र १ हजार १ सय निजामती कर्मचारी निर्वाचनको दिन परिचालन हुने समेत जानकारी दिए । भक्तपुरमा राजनीतिक दलबीच देखिएको सौहार्द पूर्ण व्यवहारका कारण निर्वाचन शान्तिपूर्ण तवरले समापन हुने पौडेलको दाबी छ ।