जाजरकोटबाट ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद

जाजरकोट, १८ फाल्गुन । जाजरकोटस्थित जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा ती बन्दुक बरामद गरिएको हो । भरुवा बन्दुक एकनाले ३ थान, दुईनाले एक थान, बाह्रबोर बन्दुक २ थान र एयर गन सानो ठूलो गरी ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा शाहीको घरमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भावेस रिमालले बताए । रिमालका अनुसार प्रहरीले हतियारसँगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ।

८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वट्टा, २ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

शाहीका बाबुछोरा दुवैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजनाअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले जानकारी दिए । -रासस