विष खुवाएर श्रीमानको हत्या गर्ने महिला पक्राउ

बाँके, १८ फाल्गुन । बाँकेमा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्‌लाई श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ ।घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।

लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर श्रीमान्‌को हत्या गरेको पतंगीले प्रहरीसमक्ष बयान दिएकी छिन् । -रासस