स्तरोन्नति गराउने राष्ट्र संघको प्रस्ताव विपरीत अल्पविकसित राष्ट्रमै रहने नेपालको निर्णय

काठमाण्डौ, १६ फाल्गुन । संयुक्त राष्ट्र संघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गराउन चाहेको प्रस्ताव विपरीत नेपालले अल्पविकसित राष्ट्रमै रहने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायता तथा व्यापारमा पनि सघाउ पुग्ने रणनीतिका साथ अल्पविकसितकै सूचीमा रहने निर्णय गरेको हो । बैठकपछि अर्थमन्त्री युवराज खतिवडाले यसबारे सन् २०२१ मा फेरि पुनरावलोकन गर्न सकिने भन्दै अहिलेको लागि अल्पविकसित देशको सूचीमै रहने पत्र पठाउने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले अख्तियारको एक सदस्यको विदेश भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको वातावरणमन्त्री लालबालु पण्डितले जानकारी दिए । बैठकमा संख्या घटाएपछिको मन्त्रालयको कार्यविभाजन र क्षेत्राधिकारका विषयमा पनि छलफल भएको मन्त्री पण्डितले जानकारी दिए ।