August 23, 2017

निर्वाचन विथोल्न खोज्नेलाई हदैसम्मको कारबाहीः गृहसचिव रेग्मी

काठमाण्डौ, ३० वैशाख । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरिएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै सचिव रेग्मीले भने, ‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभूति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनैपनि अप्रिय घट्ना नहोस् भनेर गृह प्रशासन निकै गम्भिरताका साथ रातदिन नभनि काम गरिरहेको छ ।’

उनले निर्वाचनको लागि नै सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिए । उक्त क्लष्टरका अनुसार नेपाल प्रहरीको मोबाईल टिम, सशस्त्रको मोबाईल टिम, त्यसैगरी नेपाल प्रहरीको स्ट्राईक टिम र सशस्त्र प्रहरीको स्ट्राईक टिम खटाइने सरकारले निर्णय गरेकाे छ ।

उनले निर्वाचन विथोल्ने भनेर चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाएर विभिन्न कारबाही बढाएपछि अहिले त्यस्ता घटनामा कमी अाएकाे प्रस्ट पारे ।

सचिव रेग्मीले नागरिक समाज, प्रबुद्ध व्यक्तिहरु, मिडिया र सचेत नागरिकको निरन्तरको सहयोग, सद्भाव र समर्थनले गर्दा गृह प्रशासनले सफलता पाइरहेको समेत विश्वास व्यक्त गरे । उनले नेपाल सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल रुपमा सम्पन्न गर्न लागिपरिरहेको समेत विश्वास दिलाए ।

सरकारले बलियोभन्दा बलियो सुरक्षाको प्रबन्ध गरिसकेकोले निर्वाचन भाँड्ने मनसाय र योजनामा कोही भए तत्काल त्यस्तो बदनियतपूर्ण र गलत सोच भएकाहरुलाई उक्त सोच त्यागेर निर्वाचनमा भाग लिन आग्रह समेत गरे ।

उनले भने,‘यो निर्वाचन महायज्ञ हो, भोट हाल्नको लागि सबै सरिक हुनुपर्छ ।’ निर्वाचन विथोल्न खोज्नेहरुलाई कडाभन्दा कडा कारबाही गरिने सचिव रेग्मीले बताए । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न भएको भन्दै हालसम्म एक सय ७० जनाभन्दा बढिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।