Breaking News

स्वास्थ्य सेवा दिवसको अवसरमा ४ स्वास्थ्यकर्मी पुरस्कृत

काठमाण्डौ, १५ फाल्गुन । छैटौं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरका ४ जना स्वास्थ्यकर्मीले ’स्वास्थ्य सेवा पुरस्कार’ प्राप्त गरेका छन् ।

दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित विशेष समारोहमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले उनीहरूलाई पुरस्कृत गरेका हुन् । पुरस्कार पाउनेहरूमा झापा शान्तिनगरका सिनियर अहेव दीपक सापकोटा, यदुकुदा आयुर्वेद औषधालय धनुषाका कविराज अधिकृत राम छविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई र सिन्धुली अस्पतालकी गाइनोकोलोजिस्ट डा. सुमित्रा गौतम रहेका छन् ।

आर्थिक वर्ष २०७३-०७४ मा गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उनीहरूलाई पुरस्कृत गरेको हो । पुरस्कार वितरण गर्दै मुख्यसचिव रेग्मीले स्वास्थ्य क्षेत्रमा गरिएको लगानी महत्वपूर्ण हुने भन्दै गम्भीर भएर लाग्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ आज स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्य सेवा दिवस मनाइरहेको छ । दिवसका अवसरमा मंगलबार स्वास्थ्य सेवा विभाग टेकुको प्राङ्गणमा योग अभ्यास गरिएको छ । स्वास्थ्य सेवा विभाग टेकुबाट स्वास्थ्य मन्त्रालय रामशाहपथसम्म प्रभातफेरी पनि गरिएको थियो ।

shares