October 24, 2017

सुनसरीबाट जिल्ला सेक्रेटरी सहित नेकपाका ६ कार्यकर्ता पक्राउ

अमर काफ्ले / सुनसरी, ३० वैशाख । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा सुनसरीबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ कार्यकर्ता पक्राउ परेका छन् ।

सुनसरी प्रहरीले उनीहरुलाई बराह नगरपालिका ८ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी योगेन राई, धरान नगर कमिटी अध्यक्ष सुरज राई, अनेम संघ जिल्ला संयोजक खड्गकुमारी राई, सदस्य मिनाराज धामी सहित अमृत लिम्बु र क्षितिज राई रहेका छन् । पक्राउ परेका खड्गकुमारी र सुरज राई श्रीमान श्रीमति हुन् ।

उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले बताएको छ । गोप्य भेलामा सहभागी भएको अवस्थामा विप्लव नेतृत्वका नेता तथा कार्यकतालाई प्रक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

जिल्लामा विप्लव समूहको गतिविधि बढ्न सक्ने आशंकामा प्रहरीले सर्तकता बढाएको छ । साथै सरकारी कार्यालयहरुमा प्रहरी प्रशासनले विशेष निगरानी पनि बढाएको छ ।