August 20, 2017

पुनेको लगातार ४ जितको श्रृङ्खलामा पूर्णविराम, दिल्ली ७ रनले विजयी

काठमाण्डौ, ३० वैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।

दिल्लीले राइजिङ पुने सुपरजायन्टमाथि सात रनको जित निकालेको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुनेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनमात्र जोड्न सक्यो । उसका लागि मनोज तिवारीले ६०, कप्तान स्टेभेन स्मिथले ३८ तथा बेन स्टोक्सले ३३ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ दिल्लीका जाहिर खान र मोहम्मद सामीले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६८ रन बनाएको थियो । उसका लागि करुन नायरले ६४ रनको इनिङ खेले । बलिङमा पुनेका जयदेव उडनकट र बेन स्टोक्सले समान २–२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज गुजरात लायन्स र सनराइजर्स हैदराबाद तथा कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।