Breaking News

आलु खेतीबाट लाखौं भित्र्याउँदै टाहटिम

शिवलाल सुवेदी/गुल्मी, १४ फाल्गुन । आलु खेती गरेरै रुरु गाउँपालिका ५ टाहटिमका २ दर्जनबढी आलु किसानहरूले वार्षिक लाखौं रकम आम्दानी गर्ने गरेका छन् ।

रुरु गाउँपालिका ५ बम्घा टाहटिमका लक्ष्मण गिरी ३० वर्षदेखि निरन्तर आलु खेती गर्दै आएका छन ।आलुखेती गरेर यहाँका एक घरले न्यूनतम २५ हजारदेखि १ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । गिरी जस्तै टाहटिम गाउँमा सबैभन्दा धेरै आलु खेती गर्ने ज्ञान प्रसाद श्रेष्ठले यस वर्ष आलु उत्पादन घटेको बताए । श्रेष्ठले वार्षिक आलु र पशुपालनवाट करिव ३ लाख आम्दानी गर्छन् । ३५ वर्षदेखि लगातार आलु खेती गर्दै आएका सोही गाउँकै गोमा गिरीका अनुसार आलुखेतीवाट मात्रै वार्षिक १ लाख बचत हुने बताईन । यस वर्ष उनले ५ कुण्टल बीउ मात्र लगाएको बताइन् ।

रुरु गाउँपालिका ५ बम्घा टाहटिममा रहेका ५० भन्दाबढी घरधुरीमध्ये ब्यवसायिक रुपमा ३५ स्थानीय घरपरिवारले अालु खेती गर्ने गरेको चेतनारायण श्रेष्ठले बताए । उनका अनुसार यहाँको आम्दानीको राम्रो स्रोत आलु खेती भएकाले यसलाई पकेट क्षेत्रको रूपमा घोषणा गर्नु पर्नेमा जोड दिए । आलुखेतीलाई उच्च प्रविधि प्रयोग गरेर धेरै भन्दा धेरै फाइदा लिनका लागि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनको भनाइ रहेको छ । यहाँ उत्पादन भएको आलु अहिले पैचो पसल प्रालिलले खेतमै पुगेर २५ रुपैया प्रतिकेजी खरिद गर्ने गरेको छ । आलुबाट १५ लाखबढी रकम गाउँमा भित्रिने अनुमान गरिएको छ ।

जिल्लाको रुरु गाउँपालिका ५ टाहटिमलाई आलु खेती पकेट क्षेत्र घोषणा गर्नुपर्ने आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीले बताए । यता रुरु गाउँपालिकाले पनि टाहटिमलाई आलु खेतीका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाएको छ । गाउँपालिकाले आलुखेती गर्ने किसानहरूका लागि विभिन्न तालिम र प्राविधिक सहयोगका लागि बजेट छुट्ट्याएको पालिका प्रमुख निलकण्ठ गौतमले बताए । टाहटिममा उत्पादन भएको आलु अहिले पैंचौ पसल प्रालिमार्फत सदरमुकाम तम्घास, पाल्पा, वुटवल, पोखरा, काठण्माडौ, नेपालगञ्ज, नारायणगढ लगायतका सहरमा पुग्ने गरेको छ ।

shares