August 24, 2017

तनहुँमा अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

विष्णु गौतम / तनहुँ, ३० वैशाख । तनहुँको रिसिङ गाउँपालिका वडा नं ६ चालिसेमा अपरिचित समूहले शुक्रबार राति एउटा बसमा आगजनी गरेका छन् ।

आगलागीबाट बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । ८/९ जनाको समूहमा आएका ती व्यक्तिहरुले पार्किङ गरी राखिएको ना ६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी उपरिक्षक उमेश राज जोशीले जानकारी दिए । स्थानीय तहको निर्वाचन विथोल्ने प्रयास गरिरहेको नेकपा (विप्लप) समूहले उक्त आगो लगाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

त्यस्तै शुक्रबार राति नै ३/४ जनाको अज्ञात समूहले पृथ्वी राजमार्गको डुम्रे दमौली खण्डको बन्दीपुर १ बेलभञ्ज्याङमा ना ३ ख ९११६ नं को ट्रकमा आगजनी गरेका छन् । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्कन सफल भएको प्रहरी नायब निरिक्षक मनोज पाण्डेले बताए ।

व्यास नगरपालिकाबाट लगिएको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।