अोली-दाहालबीचको वार्ता सकारात्मक, भोलि पनि एक्लाएक्लै भेट्ने

काठमाण्डौ, ६ फाल्गुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँढे पाँच घण्टा छलफल भएको छ ।

व्यवसायी दूर्गा प्रसाईंको निवास भक्तपुरको ठिमीमा आइतबार भएको भेटमा पार्टी एकता र सरकार सञ्चालनका विषयमा छलफल भएको बुझिएको छ । छलफलपछि फेरि अर्को भेट गर्ने भन्दै प्रधानमन्त्री ओली र नेकपा माओवादीका दाहाल बैठकस्थलबाट बाहिरिएका थिए ।

दुई अध्यक्षले वार्ता सकारात्मक बन्दै गएको, सोमबार पनि एक्लाएक्लै भेट्ने र छिटोभन्दा छिटो निश्कर्षमा पुग्ने जानकारी आफू निकटलाई दिएको बताइएको छ । ओली र दाहाल ठोस निष्कर्षमा नपुगेसम्म एकताका अन्य विषयमा छलफल नहुने निश्चित जस्तै छ ।

एकताका लागि ओली र दाहालबीच भएको समझदारी बुधबार राती मानभवनको एकता संयोजन समितिको बैठकबाट स्थगन हुँदै आएको थियो । एकताका लागि एमाले र माओवादीले आआफ्नै पुरानै सिद्धान्तलाई एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउने अडान लिएपछि एकता बैठकसमेत बस्न सकेको छैन । यसअघि ओली र दाहाल शनिबार पनि छलफलमा जुटेका थिए ।