त्रिभुवन आर्मी सिमरा गोल्डकपको फाइनल प्रवेश

सिमरा, ३ फाल्गुन । त्रिभुवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभुवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसँगको भेट पक्का गरेको हो । आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगञ्ज यूनाईटेड क्लबका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले ३–० को जित दर्ता गरायो ।

साविक विजेता संकटा क्लबलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको वीरगञ्ज यूनाईटेड विभागीय टिम आर्मी सामु निरिह बन्यो । करिब ८ हजार घरेलु दर्शकमाझ आर्मीविरुद्ध उत्रिएको वीरगञ्ज यूनाईटेडलाई आर्मीले पुरै समय दवावमा राख्यो । पहिलो हाफमा १–० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोले ।

खेलको ६० औं मिनटमा वीरगञ्ज यूनाईटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २–० को अग्रता हात पा¥यो । वीरगञ्जविरुद्ध हावी भएको आर्मीले ६७ औं मिनेटमा अर्को गोल थप्यो । आर्मीका दिप लामाले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाए । सिमरा गोल्डकपमा आर्मीको यो तेश्रो फाइनल यात्रा हो ।

त्रिभुवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेता समेत हो । आर्मीले शनिबार सिमरा रङ्गशालामा उपाधिका लागि थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका दिनेश हेम्जन घोषित भए ।

शुक्रबार सञ्चारकर्मीको मैत्रीपुर्ण खेल

नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको अवसर पारेर शुक्रबार बारा र मकवानपुरका सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना हुँदैछ । सिमरा रङ्गशालामा शुक्रबार विहान ८ः३० बजे खेल सुरु हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना समितिका संयोजक सुनील गाउँलेले जानकारी दिए ।

प्रतियोगिताका लागि बाराले प्रेस चौतारीका जिल्ला अध्यक्ष दिवाकर भण्डारीको नेतृत्वमा टिम तयार पारेको छ भने मकवानपुरले अग्रज पत्रकार प्रताप विष्टको नेतृत्वमा टिम तयार पारेको छ ।