Breaking News

नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवन सिलबन्दी

भक्तपुर, ३ फाल्गुन । मध्यपुर थिमी नगरपालिकाले नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन तालिम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ ।

मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को तालिम भवन निर्माण गर्दा नगरपालिकासँग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारीसमेत नगराई भवन निर्माण गरेको कारण देखाउँदै नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

प्रतिष्ठानले करिब सात करोडको लागतमा निर्माण गर्न लागेको साढे दुई तलाको (एटिसी) तालिम प्रतिष्ठान भवनको नक्सा पाससमेत नगरी प्रेरा तुलसी जयमाता कम्पनीलाई ठेक्कामा दिई एक महिनाअघि देखि भवन निर्माण सुरु गरेको नगरपालिकाले बताएको छ । साबिक हवाई विभागले तत्कालीन समयमा आकाशवाणी सेवा सञ्चालनका लागि स्थानीय बासिन्दाको करिब ४ सय ४ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

त्यसमध्य मध्यपुर ठिमी नगरपालिकाका मेयर श्रेष्ठको समेत चार रोपनी जग्गा परेको स्वयम मेयरको भनाइ छ । मेयर श्रेष्ठले आफनो लगायत धेरै किसानको जग्गा बचाउन पनि यो क्षेत्र सिलबन्दी गरेको बताए । साबिक हवाई विभाग अर्थात् हालको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले आकाशवाणी सेवा सञ्चालन प्रयोजनका लागि अधिग्रहण गरेको उक्त जग्गामा आकाशवाणी सेवा बन्द भई एयरपोर्टमा राडार जडान भइसकेपछि नगरपालिकाले उक्त जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै आएको थियो ।

प्रतिष्ठानसँग भवन निर्माणको ठेक्का पाएको प्रेरा तुलसी जयमाता कम्पनीका प्रोपाइटर बृहस्पति गौतमले प्रतिष्ठानसँग डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत असारमा सम्झौता गरी एक महिनादेखि भवन निर्माण सुरु गरेको जानकारी दिंदै नगरपालिकाले कुनै सूचना नै नदिई सिलबन्दी गरेको र अस्थायी टहरा भत्काएको बताए ।

shares