फाल्गुन २१ गते राष्ट्रपतिको निर्वाचन गर्ने अायोगको तयारी

काठमाण्डौ, ३ फाल्गुन । निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ ।

आयोगको कार्यालय कान्तिपथमा बिहीबार राजनीतिक दलसंग छलफल गर्दै फाल्गुन २१ मा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो । त्यस्तै उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते गर्ने आयोगको तयारी छ ।

संघीय संसद गठन भइसकेको अवस्थामा पाँच राजनीतिक दलहरूसँग संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ । निर्वाचनमा चुनवामा ५ सय ५० प्रदेशसभा सदस्य तथा संघीय संसदका ३ सय ३४ सदस्यले मतदान गर्ने छन् ।

छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेद्वारलाई आग्रह समेत गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए । त्यस्तै आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रपति उपराष्ट्रपति निर्वाचन, उम्मेद्वारको खर्च , लगाएतका विषयमा दलहरूसँग परामर्श गरिएको बताए ।

निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण उम्मेद्वार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन गत माघ २४ गते भई २८ माघमा परिणाम सार्वजनिक भएको थियो ।