Breaking News

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण, पण्डित र थापा बने मन्त्री

काठमाण्डौ,३ फाल्गुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् । एमाले अध्यक्षसमेत रहेका ओलीलाई बिहीबार नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

शितल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत उपस्थित थिए । यसैगरी, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसभामुख एवम् विभिन्न प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता , उद्योगी तथा व्यवसायी समारोहमा उपस्थित थिए ।

निर्वाचन आयोगले बुधबार साँझ राष्ट्रपतिसमक्ष निर्वाचनको परिणाम बुझाएपछि बिहीबार एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यस्तै बिहीबार नै नवनियुक्त प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी छन् । पण्डित वातावरण मन्त्री बनेका छन् भने थापा महिला तथा बालबालिका मन्त्री भएकी छन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिसकेका छन् ।

shares