संघीय नेपालको पहिलो प्रधानमन्त्री बने ओली, यस्ताे छ राजनीतिक यात्रा

लाेकेन्द्र भट्ट/काठमाण्डाै, ३ फाल्गुन । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली (केपी) संघीय नेपालको पहिलो प्रधानमन्त्री बनेका छन् ।

अध्यक्ष ओली दोस्रो पटक मुलुकको ४१ औं प्रधानमन्त्री बन्न सफल भएका हुन । विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए । वाम एकतासँगै माओवादीसँग पार्टी एकता गर्ने सहमती गरेको एमालेले ३ वर्षे प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपीओलीलाई अगाडि सारेपछि ओली नेपालको ४१ औं प्रधानमन्त्री बन्नु भएकाे हाे ।

लामो सङक्रमणकालको अन्त्यपछि संघीय नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा ओली अबको ३ वर्ष देशकाे बागडाेर समाल्ने भएका छन् ।नवनियुक्त प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको हो । झापामा विद्यालय जीवन सुरु गरेका ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमै पूरा गरेका थिए ।

उनले झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका नेतृत्व गरेका ओली त्यही वर्ष जेल परेका थिए । ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन् ।

ओली नेपालका पूर्व प्रधानमन्त्री र नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन् । यसअघि ओली नेपालका ३८औ प्रधानमन्त्री भइसकेका छन् । ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेत भएका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन विताएका थिए । २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका ओली पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने पराजित भए ।

विसं २०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका उनी २०७१ साल साउन १ गते एमालेको नवौं महाधिबेशनबाट विरिष्ठनेता नेता माधव कुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका थिए । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट पुनः निर्वाचित भएका थिए । ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । विक्रम संवत् २०६४ देखि २०६५ सम्म उनी उपप्रधान एवम् परराष्ट्र मन्त्री भए ।

प्रधानमन्त्री कालमा सफल मानिनुभएका ओली पार्टी नेतृत्वमा पनि सफल अध्यक्षको रुपमा चित्रित भएका छन् । स्थानीय तह चुनावमा पहिलो पार्टी भएको एमाले प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि पहिलो पार्टी भएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रसँग वाम एकता गरेर चुनावमा गएको एमाले र माओवादीले संसदका सबै सदनमा बहुमत ल्याएका छन् । राजनीतिमा निकै चलाख मानिने ओलीले पछिल्लो समय राष्ट्रवादी नेताको छवि समेत बनाएका छन ।