नेपालमा ५० लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट प्रभावित

काठमाण्डौ, ३ फाल्गुन । मानसिक रोगीहरूले सही उपचार नपाउनुका मुख्य कारणहरूमध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू रहेको सरोकारवालाहरूले जनाएका छन् ।

कलेज अफ क्राईसिस मेनेजमेन्ट र अमेरिकाको नथवेस्टर्न विश्वविद्यालयद्वारा आयोजित मानसिक स्थास्थ्यसम्बन्धी दुई दिने गोष्ठीमा सहभागीहरूले यस्तो बताएका हुन् । सबै नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको सुनिश्चितता गरी उत्पादनशील र गुणस्तरीय जीवनयापन गर्न सक्षम बनाउनु अहिलेको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

मानसिक स्वास्थ्य कमजोर भएका व्यक्तिहरूलाई साधारण तवरले जीवनयापन गर्न मद्धत गर्न समूदायका व्यक्तिहरूको पनि भूमिका महत्वपूर्ण हुने भन्दै यसका लागि सामाजिक कार्यकर्ताहरूलाई प्रशिक्षणको आयोजना गरिएको कलेज अफ क्राईसिस मेनेजमेन्टका प्रमुख पूर्वरथी बालानन्द शर्माले बताए ।

नेपालमा ५० लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको विभिन्न अध्ययनहरूले देखाएको छ । ती मध्ये ९ लाख डिप्रेसनबाट पीडित रहेका छन् ।