फ्लोरिडाको स्कुल गोलीकाण्डमा कम्तीमा १७ को मृत्यु

अमेरिका, ३ फाल्गुन । अमेरिकाको फ्लोरिडास्थित एउटा हाइ स्कुलमा भएको गोली प्रहारको घटनामा कम्तीमा १७ जना मारिएका छन् ।

फ्लोरिडाको पार्कल्याण्डमा भएको उक्त घटना सोही विद्यालयबाट निष्काशित १९ वर्षीय पूर्व विद्यार्थीले गराएको ठानिएको छ । अधिकारीहरूले अन्य १४ जना विद्यार्थी घाइते भएको बताएका छन् ।

सन्दिग्ध आक्रमणकारी मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्व विद्यार्थी निकोलस क्रुजलाई गिरफ्तार गरिएको छ । उनले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्तता सिर्जना गराएको र त्यसपछि गोली चलाउन थालेको सुरक्षा निकायहरूले जनाएका छन् ।

सन् २०१२ मा २६ जना मारिने गरी भएको भयानक स्कुल गोलीकाण्डपछि विद्यालय हाताभित्र भएको यो अर्को ठूलो हिंसात्मक अाक्रमण हो । अमेरिकामा भएका यस्तोखाले अाक्रमणहरूमा यो छैठौं भएको पनि जनाइएको छ ।

एउटा ट्विटर सन्देशमा राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कोहीले पनि अमेरिकी विद्यालयमा कहिल्यै पनि असुरक्षित महसुस गर्न नहुने उल्लेख गरेका छन्।