Breaking News

प्रधानमन्त्री भएपछि ओली बने दलको नेता, माननीयलार्इ दिए यस्ताे निर्देशन

काठमाण्डौ,३ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा चयन भएका छन्।

 ओली प्रधानमन्त्री भएपछि मात्र एमाले संसदीय दलको नेता बनेका हुन् । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि बिहीबार बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । ओलीलाई दलको नेतामा माधवकुमार नेपालले प्रस्ताव गरेका थिए । एमालेको हिजो बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा अगाडि गर्ने निर्णय गरेको थियो ।

आजै बिहान माओवादीको समर्थनमा एमालेका शीर्ष नेता राष्ट्रपति निवासमा ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश गरेका थिए। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी थिइन् । दलको नेता चयन भए लगत्तै ओलीले सांसदहरूलाई आचरण र पहिचानको विषयसमेत निर्देशन दिएका हुन्।

ओलीले भने, ‘देख्दा पनि माननीय रहेछ भन्ने हुनुपर्छ, लोगो लगाएको हुनुपर्‍यो । चिनिने हुनुपर्छ। दुर्व्यसनले फाइदा गर्दैन  । आफ्नो विषयमा अध्ययन गर्ने गर्नुस्।‘ ओलीले सपथ ग्रहणमा आउँदा पुरुष सांसदहरुले दौरा सुरुवाल र महिला सांसदलाई सकभर साडी चोलोमा आउन सुझाए।

shares