सप्तरी निर्वाचन कार्यालयमा मधेसी माेर्चाकाे धर्ना

दिनेश शर्मा /राजविराज, ३ वैशाख । स्थानीय तह निर्वाचनको विरोध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आईतवार सप्तरी सदरमुकाम राजविराज स्थित जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ ।
सरकारद्वारा वैशाख ३१ गतेका लागि घोषित निर्वाचन तथा हालसालै दर्ता भएको संविधान संशोधनको नयाँ प्रस्ताव विरुद्ध नाराजुलुस गर्दै निर्वाचन कार्यालयमा पुगेका मोर्चाका कार्यकर्ताले दिनभर कार्यालयमा धर्ना दिएका छन् ।
मोर्चाका कार्यकर्ताहरु निर्वाचन कार्यालयको मुल गेटमै धर्नामा वसेपछि कार्यालयको काम र सडकको आवगमन समेत अवरुद्ध भएको छ । धर्नामा वसेका सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले यथास्थितीमा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने स्पष्ट पार्दै मधेशको माग सम्वोधन नगरेसम्म कुनै पनि चुनाव हुन नदिने बताए ।