Breaking News

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिए राजीनामा

काठमाण्डौ, ३ फाल्गुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन्।

नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आजैबाट लागु हुने गरी राजीनामा दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ ।

सम्बोधनमा देउवाले तीनै तहका निर्वाचन सम्पन्न गर्नु आफ्नो सरकारको महत्वपूर्ण उपलब्धी भएको भन्दै हिमाल, पहाड र तरार्इ सबैतिर संविधानको स्वीकार्यता बढाएको सम्बोधनको उनले क्रममा बताए ।

‘मैले धैर्य नगरेको भए संक्रमणकाल सकिने थिएन, बरु देशमा थप समस्या निम्तिने थिए,’ देउवाले भने, ‘म चाहन्थे काठमाडौंजस्तै तराई, पहाड हिमालका जनताले संविधानलाई आफ्नो मानून्।’ सम्बोधनका क्रममा देउवाले भारत र चीनसँगको सम्बन्धलाई आफ्नो कार्यकालमा थप समानतामा आधारित बनाइएको दाबी गरे।

वृद्धभत्ताको निर्णयमाथि चर्को आलोचना खेपेका उनले यसबारे पनि प्रष्ट्याउने कोशिश गरेका छन् । ‘नेपालका केही जिल्लामा औसत आयु ७० वर्षभन्दा कम छ। त्यसैले सरकारले उनीहरूको जीवनयापनमा सहयोग पुगोस् भनेर ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको हो,’ उनले भने।

सम्वोधन लगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

shares