Breaking News

निर्वाचन आयोगले आजै राष्ट्रपतिलाई निर्वाचनकाे अन्तिम परिणाम बुझाउने

काठमाण्डौ,२ फाल्गुन । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकको अन्तिम नतिजा आजै राष्ट्रपतिलाई बुझाउने भएको छ ।

कांग्रेस, माओवादी र राजपाले सूची सच्याएर आयोगमा बुझाइसकेकाले समानुपातिकको अन्तिम नतिजा आजै सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाउने आयोगका प्रवक्ता नवराज ढकालले उज्यालोलाई जानकारी दिएका हुन् । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवको नेतृत्वमा बेलुका पौने ८ बजे परिणाम राष्ट्रपति लाई बुझाइने पनि उनले जानकारी दिए ।

आयोगले प्रदेश र प्रतिनिधिसभा चुनाव सकिएको ७० दिनपछि प्रतिनिधिसभातर्फको सम्पुर्ण परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको हो । आयोगले राष्ट्रपतिलाई चुनावी परिणाम बुझाए लगत्तै नयाँ सरकार गठनको औपचारिक बाटो खुल्ला हुनेछ ।

संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेको थिएन । समानुपातिकतर्फको १ सय १० सिटमा दलले प्राप्त गरेको सिट संख्याका आधारमा क्लस्टर नमिलेपछि कांग्रेस, माओवादी र राजपालाई २ दिनको समय–सीमा दिँदै पुन सच्याउन पत्राचार गरेको थियो ।

समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपा र फोरमले ६-६ सिट पाएको छ । दलहरुले बुझाएको नाममा कांग्रेस, माओवादी र राजपाको नमिलेपछि आयोगले सच्याउन आज बुधबार ५ बजेसम्मको समय दिएको थियो ।

shares