नेपालका अधिकांश भू–भाग भूकम्पीय जोखिममा

काठमाण्डौ, २ फाल्गुन । हिमालय शृंखलाको आसपासमा रहेका नेपालका अधिकांश भू–भाग भूकम्पीय जोखिमको प्रकोपजन्य क्षेत्रमा रहेको विज्ञहरूले बताएका छन् ।

सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय , खानी तथा भूगर्भ विभाग, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र काठमाडौँ उपत्यका भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले बुधबार काठमाण्डौमा आयोजना गरेको जोखिम मूल्याङ्न नतिजा गोष्ठीमा उनीहरूले यस्तो बताएका हुन् ।

भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी तथा अझ राम्रो र बलियो हुनुपर्नेमा उनीहरूले जोड दिए । गोष्ठीमा राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुदूरपश्चिम क्षेत्रमा सय वर्षदेखि भूकम्प नगएकाले शक्ति सञ्चय भई ठूलो कम्पन हुनसक्ने सम्भावना अध्ययनले देखाएको बताए । उनले काठमाण्डौ उपत्यकामा ठूला भूकम्प जाने सम्भावना भएका स्थानलाई अध्ययन गर्दै त्यसले काठमाण्डौमा पर्न सक्ने क्षतिका विषयमा सचेत हुनुपर्ने धारणा राखे ।

त्यस्तै सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुमन सालिकेले ललितपुर महानगरपालिका, भक्तपुर र बूढानीलकण्ठ नगरपालिकाका एक लाख घरको सूचना लिई अध्ययन गरिएको जानकारी दिए । विसं २०७५ को वैशाखमा यो परियोजनाको अवधि सकिएपछि अध्ययनबाट प्राप्त तथ्यांक कार्यान्वयनका लागि नयाँ कार्यक्रम ल्याउने सोच बनाइएको आयोजकले जनाएको छ ।