Breaking News

माओवादी हेडक्वाटर बैठकः आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको प्रचण्डको ब्रिफिङ

काठमाण्डौ, २ फाल्गुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेडक्वाटर बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको मौखिक सहमतिको ब्रिफिङ गरेका छन् ।

खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा बसेको बैठकमा दाहालले एमालेसँग द्विअध्यक्षात्मक प्रणाली र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको भएकाे बताएका हुन् ।

बैठकमा सहभागी नेताहरुले त्यसलाई लिखित रुपमै टुंगो लगाउन अध्यक्ष दाहाललाई जिम्मा दिएका छन् । सहमतिबारे लिखित रुपमै स्पष्ट हुनपर्ने बारेमा नेताहरुले जाेड दिएका थिए ।

आजै बिहान भएको दुई पार्टीका अध्यक्षबीचको छलफलपछि दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेको थियाे । एमाले स्थायी कमिटि बैठक भने ललितपुरको मानभवनमा बसिरहेको छ। एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको एमाले नेताहरुले जनाएका छन् ।

पहिले नेतृत्व कस्ले गर्ने, कति समयसम्म गर्ने लगायतका कुरा एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । केहीबेरमै पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । दुई पार्टीबीच आजै एकता हुनसक्ने अनुमान गरिएको छ।

shares