करेन्ट लागेर स्कूले विद्यार्थीको मृत्यु

यमन दनुवार/उदयपुर, २ फाल्गुन । त्रियुगा नगरपालिकाको बगाहामा बुधबार दिउँसो करेन्ट लागेर एक स्कूले विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फर्ममा करेन्ट लागेर त्रि.न.पा. ३ बगाहाका १५ वर्षीय सुसान (सुमन) चौधरीको दिउँसो सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय क्रिमसन बोर्डिङग स्कूलमा कक्षा ६ मा अध्ययनरत चौधरी विद्यालय नगएर नातामा काका पर्नेको कुखुरा फर्ममा दिउँसो खेल्न गएको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई कसरी करेन्ट लाग्यो भन्ने बारे केही खुलेको छैन ।

करेन्ट लागेर लडेको देखेपछि गाउँलेहरूले तत्काल उनलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याएका थिए । तर चिकित्सकहरूले उनलाई उपचारअघि नै मृत घोषित गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको एस्पी नवराज भट्टले बताए ।