August 23, 2017

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…

काठमाडौं, २९ बैशाख । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने ।

तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले ।

मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरू प्रेमी–प्रेमिका भए । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरूको बिहे भयो ।

बिहेमा परिवार व्यस्त भएकाले आउन नपाएको तिमल्सिनाले बताएका थिए । आफ्ना साथीहरूलाई आफन्त भन्दै उनले बोलाएका थिए । जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो ।

बिहेको करिब दुई महिनापछि श्रीमान्को झोलामा शिलाले बिमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरूको बिमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमान्को नाम बुबा भनेर उल्लेख थियो ।

पहिलेदेखि नै श्रीमान्को व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागजपत्र देखेर उनी झस्किइन् । श्रीमान्सँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो ।

त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमान्विरुद्ध उजुरी दिइन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेको छ ।
केही वर्षअघि एक हाइड्रोपावर कम्पनीको स्टोर शाखामा काम गरेका उनी १० कक्षा पास मात्र भएको खुलेको छ । पक्राउ परेपछि उनले युवती आफूसँगको प्रेममा ‘फिदा’ भएकाले उनको ज्यान जोगाउन आफूले ढाँटेर बिहे गरेको दाबी गरेका छन् । यो खबर नयाँ पत्रिकामा छ ।