प्रदेश ७ को मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

धनगढी,२ फाल्गुन । प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आज आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रकाशित सूचनामा नेपालको संविधानको धारा १६८ को उप धारा–१ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत रहेको नदेखिएकाले उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थन स्पष्ट देखिने गरी मुख्यमन्त्रीमा नियुक्त हुन यही फागुन ४ गते दिउँसो ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न आह्वान गरिएको छ।

प्रदेश प्रमुखको आह्वानपछि सम्भवतः आजै वा भोलि बिहानसम्म नेकपा एमाले र माओवादी केन्द्रको बहुमत सांसदको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने दाबी पेश गर्ने तयारी गरिएको छ।

एमालेका प्रदेश सांसद प्रकाश शाहले एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेश हुन लागेको जानकारी दिए ।

प्रदेश नम्बर ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन् ।

काे हुन् प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीका लागि सिफारिस भएका त्रिलाेचन भट्ट