Breaking News

आईसीसी डिभिजन २ः क्यानडा विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ

काठमाण्डाै,२ फाल्गुन । नामिबियामा जारी आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको पाँचौं खेलमा नेपाल र क्यानडा भिडिरहेका छन् ।

आईसीसी विश्वकप क्रिकेट छनोटमा स्थान बनाउने उद्देश्यका साथ लिग चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको छ । खेल विन्डोहकस्थित वण्डर्रर क्रिकेट ग्राउण्डमा भइरहेको छ । प्रतियोगितामा चार खेलको समाप्तीसम्म क्यानडा ६ अंकका साथ तालिकाको पहिलो र समान अंक जोडेको नेपाल रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा केन्यालाई आठ विकेटले हराउँदै घरेलु टोली नामिबिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।  नेपाल र क्यानडा दुवैका लागि प्रतियोगिताको शीर्ष दुईमा रहेर विश्वकप छनोटको यात्रा तय गर्न जितको विकल्प छैन ।

यसअघि खेलेका चार खेलमध्ये समान तीन जित र एक हार व्यहोरेको नेपाल र क्यानडाबीचको खेलमा पराजित टोलीले शीर्ष दुईमा स्थान बनाउन अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

नेपाल र क्यानडाबीच भएको पछिल्लो दुई खेलमा दुवै टोलीले एक एक जित हात पारेका छन् । सन् दुई हजार १४ मा भएको आईसीसी विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले हारेको थियो भने दुई हजार १५ मा भएको डिभिजन टुमा नेपाल सात विकेटले विजयी भएको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई एक विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यस्तै, दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित हुँदा नेपालले युएईलाई चार ता केन्यालाई तीन विकेटले हराएको थियो ।

shares