प्रदेश ७ काे सभामुखमा बझाङका अर्जुन थापा निर्वाचित

सुशील ढुङ्गाना/धनगढी, २९ माघ । प्रदेश ७ को सभामुखमा अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन । सोमबार बसेको प्रदेश सभाको बैठकले थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरी सभामुखमा अनुमोदन गरेको हो । थापा नेकपा एमाले बझाङ ‘क’ बाट निर्वाचित  सांसद हुन ।

सभामुखमा थापाको मात्रै उम्मेद्वारी परेपछि नेपाली काँग्रेसकी समानुपातिक सांसद तथा प्रदेशसभा जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बसको बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा अध्यक्षता गरेकी ज्येष्ठ सांसद शाहले सभामुखमा थापाको मात्रै उम्मेदवारी परेकाले उनलाई अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम थापा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

बैठकमा एमालेका सांसद दीर्घ सोडारीले थापालाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए, भने प्रस्तावमा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले समर्थन जनाएका थिए ।

प्रदेशसभाको अर्को संसद बैठक फागुन ६ गते आइतबार १ बजे बस्ने र सोही दिन उपसभामुख चयन गरिने प्रदेश सभा संसद सचिवालयका सचिव मुरारी महतले जानकारी दिए ।

नवनिर्वाचित सभामुख थापाले सोमबार नै प्रदेश प्रमुख माहेनराज मल्लबाट सपथग्रहण गरी आफ्नो कार्यभार ग्रहण गरिसकेको सचिव महतले बताए ।

यस प्रदेशमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टी गरी ४ वटा दल भए पनि माओवादीको समर्थनमा थापाले उम्मेदवारी दिएका थिए । काँग्रेस र राष्ट्रिय जनता पार्टीले भने उम्मेदवारी दिएको थिएन् । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् ।

को हुन थापा ?

बझाङको ‘क’ निर्वाचन क्षेत्रबाट निर्वाचित ६२ बर्षीय थापा शिक्षण पेशा छोडेर राजनीतिमा सक्रिय थिए । एमाले बझाङका पूर्वअध्यक्ष समेत रहिसकेका थापा २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थिए ।

२०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा बझाङ क्षेत्र नम्बर १ बाट थोरै मतले पराजित भएका थिए । भूगोल र अर्थशास्त्र विषयमा स्नातक गरेका थापाले बझाङको खप्तड मावि, लामातोला मावि र दुर्गा भवानी माविमा २६ वर्ष अध्यापन गराएका थिए ।

उनका  ‘विश्व कम्युनिष्ट आन्दोलनको एक झलक’ (विश्व– नेपाल–बझाङ) र ‘मार्क्सवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवाद’ नामक पुस्तक पनि प्रकाशित छन ।