केन्याद्वारा नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत, सन्दीपले लिए पाँच विकेट

कानठमाण्डाै,२९ माघ । आईसिसि विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत जारी खेलमा केन्याले नेपालसामु एक सय ७८ रनको चुनौती पेश गरेको छ ।

विन्डोहकस्थित वण्डर्रर क्रिकेट ग्राउण्डमा टस गुमाएर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई जितका लागि एक सय ७८ रनको विजयी लक्ष्य दिएको हो । मध्यम सुरु गरेको केन्याले पुरै पचास ओभर खेल्दै आठ विकेट गुमाएर एक सय ७७ रन बनायो । जारी प्रतियोगितामा खराब नतिजा आत्मसाथ गरिरहेको केन्याले आज राम्रो सुरुवात गरेको थियो ।

केन्याका ओमपनरद्धय इरफान करिमले ४२ तथा एलेक्स ओबाण्डाले ४१ रन बनाएर टोलीको पारी उकास्न खोजे पनि मध्य क्रममा आएका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । त्यस्तै, कोलिन्स ओबुयाले २७ र नेल्सन ओधियाम्बोले नटआउट २४ तथा शेम न्गोचेले नटआउट २३ रन बनाए ।

केन्यालाई दबाबमा राख्न स्पिनर सन्दिप लामिछानेले आज पनि आफ्नो उत्कुष्ट लय जारी राखे । बलिङतर्फ सन्दिपले पाँच विकेट लिएका छन् भने बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषावकरले समान एक-एक विकेट लिए ।

यसअघि नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार बेहोरेको थियो। केन्याले सुरुवाती दुवै खेल गुमाएको थियो ।  जारी प्रतियोगितामा खेलेका तीन खेल मध्ये दुई जित र एक हार भोग्दै चार अंकका साथ नेपाल तालिकाको दोस्रो स्थानमा रहेको छ । यता तीन खेलमा शतप्रतिशत नतिजा हात पार्दै क्यानडा ६ अंकका साथ तालिकाको शीर्षस्थानमा छ ।