माओवादीसंगकाे पार्टी एकता र सरकार गठन सँगसँगैः भीम रावल

काठमाण्डौ,२९ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रसँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार काठमाडौमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताएका हुन् । देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उनको भनाइ थियो ।

रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे ओली र प्रचण्डबीच छलफल भैरहेकाे भन्दै अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भैसकेको बताए ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउ भएकोले उसले गरेका कतिपय निर्णयहरु आफूहरुले पूनरावलोकन गर्ने पनि उनको भनाई थियो । रावलले प्रदेश सभाका प्रमुखबारे पनि त्यसको औचित्यका आधारमा पूनरावलोकन गरिने स्पष्ट पारे ।

वाम गठबन्धनको मुख्य उद्देश्य भनेको अब मुलुक र जनताको समृद्धि भएकोले त्यसकै लागि आफूहरु केन्द्रित हुने उनको भनाई थियो ।