उत्तर कोरियासँग निशर्त वार्ता गर्न अमेरिका तयार

काठमाण्डौ, २९ माघ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग बिना कुनै शर्त वार्ता गर्न अमेरिका तयार रहेको बताएका छन् ।

वाशिङटन पोस्टसँगको कुराकानीमा पेन्सले उत्तर कोरिया वार्ता गर्न तयार भएको खण्डमा अमेरिका पनि तयार रहेको स्पष्ट पारेका हुन् । उनको यस कुराले अमेरिकाले आफ्नो अडान स्पष्ट रूपमा परिवर्तन गरेको जस्तो देखिन्छ । उनले भने, “यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ ।”

तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने उनको भनाइ छ । दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भर्इ स्वदेश फर्केपछि उनले उत्तर-कोरिया र अमेरिकाबीचको सम्बन्धबारे बोलेका हुन् ।

यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङ-अन निशस्त्रीकरणका लागि तयार नभएसम्म वार्ता नगर्ने बताएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मूनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले बताए ।