July 21, 2017

एसियाली यु–१२ टिम टेनिस छनोट प्रतियोगिता हुने

लोकेन्द्र विष्ट / काठमाण्डौ, २८ वैशाख । अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने दुई राष्ट्र यसै वर्षको डिसेम्बरमा काजकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट हुने आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी दिए ।

पुरुष र महिलामा समान २–२ राष्ट्र छनोट हुने प्रावधान छ । ६ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछ । लनटेनिस संघले ९ महिनाको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको यो तेश्रोपटक हो ।