आर्मीका कृष्ण बस्नेतले जिते प्रधानसेनापति खुल्ला म्याराथन

काठमाण्डाै, २७ माघ । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता तथा रन फर फनको उपाधी नेपाल आर्मीका कृष्ण बस्नेतले हात पारेका छन् ।

शनिबार काठमाडौमा भएको खुला म्याराथन प्रतियोगिता अन्तर्गतको ४२ दशमलव १९ किलोमिटर २ घण्टा २२ मिनेट ५२ सेकेन्डमा पुरा गर्दे बस्नेतले उपाधी हात पारेका हुन् । उनले १ लाख रुपैयाँ प्राप्न गरे ।

त्यस्तै एपीएफका गोपिचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए भने आर्मीकै राजन खत्री २ घण्टा २९ मिनेट १२ सेकेन्टमा दुरी पार गर्दै तेस्रा भएका छन् । पार्कीले ५० हजार र खत्रीले २५ हजार नगद पाए।

त्यसैगरी २१ किलोमिटरमा पुरुष ४५ वर्षभन्दा कम उमेरको हाफ म्याराथनको उपाधि नेपाली सेना गजेन्द्रराज राईले जितेका छन् । उनले निर्धारित दूरी १ घण्टा १० मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट २ सेकेन्ड र कल्याण बानियाँले १ घण्टा १० मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

४५ वर्ष मुनिका महिलातर्फको प्रतियोगितामा नेपाली सेनाकी विश्वरुपा बुढाले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा निर्धारित दुरी पार गरी पहिलो भए । सेनाकी रेशु बस्नेतले १ घण्टा २२ मिनेट ४३ सेकेन्ड र एपीएफकी विन्द्रा धनके श्रेष्ठले १ घण्टा २३ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भएका हुन् । दुवै स्पर्धामा प्रथमले २५ हजार, दोस्रोले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे।

पुरुष ४५ वर्ष माथिको प्रतियोगितामा दामोदर बुढामगर पहिलो, भीमबहादुर गुरुङ दोस्रो र कपिल भट्ट तेस्रो भएको छन् । सेनाका अधिकृत पुरुषतर्फको १० किलोमिटरमा रुपेश नेपाली, भुपाल अधिकारी र मधु थापा पहिलो, दोस्रो र तेस्रो भएका हुन् ।

सेनाका अधिकृत महिलातर्फ भने करिष्मा प्रधान, मीनाकुमारी बस्नेत र रेखा अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । प्रतियोगितामा विदेशी सैनिक सहचारी र ५ किलोमिटरतर्फ विद्यार्थीहरु पनि सहभागी भएका थिए ।