राष्ट्रियसभा सदस्य मनोनित गर्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई

काठमाण्डौ, २६ माघ । सरकारले राष्ट्रियसभाका तीन सदस्य मनाेनित गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकमा यसबारे छलफल भएको थियो । तर, दलहरुसँग परामर्श गरेर नाम सिफारिस गर्ने जिम्मा देउवालाई दिइएको हो । राष्ट्रियसभा सदस्यका लागि कांग्रेस मुख्यसचि कृष्णप्रसाद पौडेल, कांग्रेसका पुराना नेता गोपाल बस्नेत र चाँदनी जोशीको नाम चर्चामा छ । तर, एमालेले भने तीन सदस्य मनोनित गर्ने अधिकार नयाँ सरकारलाई हुने बताउँदै आएको छ ।

यही माघ २४ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ । राष्ट्रियसभाका ५९ सदस्यमध्ये कम्तिमा एक जना महिलासहित तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

बैठकले राष्ट्रकवि माधब प्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिने निर्णय गरेको छ । बैठकले रामबहादुर बम्जमले तपस्था गरेको पर्साको जंगललाई धार्मिक वन बनाउने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद बैठकले बूढीगण्डकी आयोजना निर्माण गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको लगानी सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै ठूला सवारी साधनको लाइसेन्स एकैपटक लिन पाउने निर्णय गरेको सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले जानकारी दिए ।

अहिलेसम्म ठूला सवारी साधनको लाइसेन्स लिन साना सवारी साधन चलाउने अनुमाति अनिर्वाय लिएको हुनुपर्ने नियमलाई सरकारले संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।