विश्वकै सबैभन्दा लामाे गीतकाे भिडियाे सार्वजनिक

काठमाण्डौ, २६ माघ । गिनीज बुक अफ वर्ल्ड रेकर्ड राख्ने उद्देश्यले तयार पारिएको विश्वकै पहिलो ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा धिताल फिल्मस् प्रा.लीले एक कार्यक्रमको आयोजना गरेर ‘दि अर्थ’ गीति एल्बममा समाहित ‘आई लभ यू’ बोलको गीत सार्वजनिक गरेको हो । महानायक राजेश हमाल र पत्रकार ऋषि धमलाले उक्त गीतको भिडियो संयुक्तरूपमा विमोचन गरेका हुन् । महानायक हमालले उक्त सार्वजनिक गीतलाई पृथक र विश्वकै धेरै लामो गीत भनेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महानायक हमालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान दिएका महत्वपूर्ण व्यक्तिहरूको नामहरू समावेश गरेर तयार पारिएको गीतलाई ‘आई लभ यू’ वाक्यद्धारा सम्बोधन गर्नुले राष्ट्र र अन्तर्राष्ट्रियबीचकोे भावनात्मक एकताको संकेत गरेको दाबी गरेका छन् ।

गीतका शब्द, संगीतकार तथा गायकार लक्षुप्रकाश मल्लले नेपाली कलाकाहरूको इतिहास बदल्नको लागि यो जोखिम मोलेको बताए ।
नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उँचो पार्ने उद्देश्यका साथ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन तयार पारिएको गीत बन्नको लागि धेरै पक्षको प्रत्यक्ष भूमिका रहेको छ ।

मल्ललाई शब्दमा सुमन थापाले साथ दिएका छन् । उक्त गीतको भिडियो निर्देशन होम धितालले गरेका हुन । दृश्य सम्पादन रोशन धितालले गरेका हुन् भने छायांकन करन चैसिरले गरेका हुन । धिताल फिल्मस प्रा.लीले बजार व्यवस्थापन गरेको गीतको सार्वजनिक कार्यक्रममा विभिन्न विधाका एकदर्जन बढी सर्जकलाई सम्मान गरिएको थियो । पत्रकार तथा सञ्चारकर्मी राजकुमार रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए ।