October 22, 2017

निर्वाचनमा सबै दललाई सहभागि गराउन सरकारलाई निर्देशन

काठमाण्डौ ३ बैशाख ।आगामी निर्वाचनमा सबै दल सहभागी हुने वातावरण निर्माण गर्न राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आईतबार बसेको व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठकले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले निर्वाचन आचार संहिताको कार्यान्वयनलाई कडाइ गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ । समितिले आगामी निर्वाचनको राज्य व्यवस्था समितिले अनुगमन गर्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन समेत दिएको छ । बैठकमा उपप्रधानमन्त्री निधीले समेत मोर्चासँग सहमतिका लागि सम्वाद भइरहेको भन्दै पेलेर निर्वाचनमा जाँदा मुलुक द्वन्द्वमा फस्न सक्ने भन्दै सचेत गराएका थिए ।

नीतिगत रुपमा सरकार बैशाख ३१ गते एकै चरणको निर्वाचनको तयारीमा रहेको निधीले बताए  । तर, असहमतिमा हुने दोस्रो चरणको निर्वाचन भन्दा सहमतिमा हुने दोस्रो र तेस्रो चरणका चुनाव देशको हितमा हुने उनको भनाई थियो ।
यस्तै, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन अचार संहिता अझै कार्यान्वयन नभएको भन्दै कार्यान्वयनमा जोड दिए । उनले सबै स्वतन्त्र दललाई एउटै चुनाव चिन्ह दिन नसकिने बताउँदै मतपत्र छाप्न पठाइसकेकाले फेरबदल गर्न नसकिने बताए ।
बैठकले तराईका जिल्लाहरुमा आगलागीमा परेर घरवारविहीन परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ । त्यसरी राहत उपलब्ध गराउँदा भूकम्प प्रभावित परिवारकै हैसियतमा हेर्न पनि निर्देश गरेको छ ।