वेव सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक

काठमाण्डौ, २४ माघ । एस.एन ईन्टरनेशनल ईभेन्ट्सद्वारा निर्मित वेव सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा एस.एन ईन्टरनेशनल ईभेन्ट्सले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको छ । वेव सिरिज ‘एरेन्ज लभ’का निर्देशक तथा लेखक फराज अर्पणले २१औँ शताब्दीमा पनि मागी विवाह प्रचलन कायम रहेको बताएका छन् ।

उनले भने,‘हाम्रो मुलुक २१ औँ शताब्दीमा हिंडिरहेको छ, धेरै परिर्वतनका आवाज र क्रान्तिहरू भएका छन्, तर हाम्रो मुलुकमा अझैसम्म पनि मागेर विहे गर्ने चलन बाँकी छ, अभिभावकको दवाबमा परेर विवाह गर्नु कदापि राम्रो होईन, मैले यसलाई फरक तरिकाले अभिनयमा उतार्न खोजेको छु ।’

मागी विवाहको बन्धनमा परेका मानिसहरूले त्यसको सामना कसरी गर्न सक्छन् भन्ने कुरालाई मिहिन रूपमा दृश्य र अभिनयको माध्यमबाट देखाउने उक्त वेव सिरिजको छायांकन केही समयमै सुरु हुने बताइएको छ । मागी विवाहको अन्त्य र सामाजिक विचलनमा कमी ल्याउने उद्देश्यले यो सिरिजको थालनी गरिएको आयोजकले जानकारी दिएको छ ।

नयाँ वर्ष २०७५ सालको वैशाख १ गतेबाट भाग १० सम्म सार्वजनिक गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा कलाकारहरू स्वस्ति वैद्य, सफल अग्रवाल, साहिल खान लगायतले आफ्ना कुराहरू राखेका थिए ।